Sunday, November 20, 2016

कवि माधवप्रसाद घिमिरे र ‘नवयुवक’ कविता


                प्रस्तुत कवितामा कविले नवयुवकहरुको जोश, जाँगर, उत्साह, उमङ्ग तथा पुरुषार्थको उल्लेख गरेका छन् । युवकहरुको माध्यमबाट राष्ट्र निर्माणको अभियानमा एकजुट हुनुपर्ने भाव यस कवितामा व्यक्त भएको पाइन्छ । कविले ऐतिहासिक प्रसङ्ग उठाउँदै युवाको जोस र जाँगरको मुक्तकण्ठले प्रशंसा गरेका छन् । अन्याय, अत्याचार, कुशासन, सामन्ती व्यवस्था, शोषण, दमन हटाउन युवाहरुले त्याग गरेको कुरा बताउँदै कविले युवाहरु प्रणयसुखमा मात्र अल्झिरहे राष्ट्रमा संकटको घडी आउन सक्ने बताएका छन् । युवावर्गको काँधमा सिंगै युगको दायित्व पर्न आएको बताउँदै कविले युवालाई जस्तोसुकै आँधीबेहरी आएपनि विचलित नभई कर्तव्यपथमा डट्नुपर्ने प्रसङ्ग उठाएका छन् । कविको विचारमा युवाहरुले देश हाँक्छन् । युवाहरुले जीत ल्याएनन् भने, युवतीले गीत गाएनन् भने, वसन्तमा कोइलीको आवाज गुञ्जिएन भने, अँध्यारामा ताराहरु निभे भने सृष्टिको अन्त्य हुने तर्क यहाँ अघि सारिएको छ । तसर्थ युवाले सृष्टिको अन्त्य हुन दिनुहुँदैन, युवाले बिहानीको सूर्यजस्तै बनेर टाकुराहरुमा ज्योति फैलाउनुपर्छ । विश्वको प्राण नै युवावर्ग भएकोले युवाले नथाकीकन देशका लागि कर्म गर्नुपर्छ, ज्यान दिन सक्नुपर्छ भन्ने भाव यहाँ व्यक्त भएको छ । समाजका लागि हानिकारक हुने कामका विरुद्ध लड्न पनि यहाँ आह्वान गरिएको छ । यस्तै युवाशक्तिका अगाडि ठूलाठूला सामन्तहरुको पनि केही नलाग्ने, सिंहासनहरु हल्लिने, अन्यायहरु काँप्दै भाग्ने विचार व्यक्त गरी युवावर्गलाई विदेश पलायन नभई राष्ट्रनिर्माणको पथमा जुट्न अग्रसर हुनुपर्ने सन्देश यहाँ दिइएको छ ।
                मन्दाक्रान्ता छन्दमा सहज र सरस भाषाशैलीमा संयोजन गरिएको यस कवितामा उपमा र उत्प्रेक्षाजस्ता अलङ्कारहरुको प्रयोग पाइन्छन् । कविले प्रकृतिका विभिन्न बिम्ब र प्रतीकका माध्यमबाट कवितात्मक अभिव्यक्तिलाई जीवन्त तुल्याएका छन् । युवाको अजेय शक्तिलाई नवनिर्माणको कार्यमा लगाउनुपर्ने भावसन्देशलाई परिष्कृत शैलीशिल्पद्वारा सिँगारिएको यो कविता भाव, लय र अलङ्कारविधानका दृष्टिले उत्कृष्ट बन्न पुगेको छ । माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारालाई परिष्कारवादी शैलीशिल्पको कुशल संयोजन गर्ने कवि हुन् । उनको कवितामा राष्ट्र, राष्ट्रियता अनि राष्ट्रिय संस्कृतिको कलात्मक विन्यास पाइन्छ । प्रकृतिको तनमय र मनमय चित्रण गर्न सिपालु कवि घिमिरेले प्रकृति चित्रण र मानवतावादी भाव अभिव्यक्त गरेका छन् । स्वतन्त्रता, सामाजिकता, भातृत्व र विश्वबन्धुत्वको भावनाले यिनका कविताहरु ओतप्रोत हुन्छन् । प्राकृतिक, पौराणिक,
सामाजिक र ऐतिहासिकताको कलात्मक प्रस्तुतीले गर्दा यिनका कविताहरु आकर्षक र सुन्दर बनेका छन् । प्रकृतिको चित्रण गर्ने क्रममा मानिसलाई प्रकृतिको वरदानको रुपमा चिनाउनृ र प्रकृतिको काखमा नै मानिसले जीवनयापन गर्न पाउने कुरालाई आफ्नो कवितामा प्रस्तुत गरेका छन् ।

No comments:

Post a Comment