Sunday, November 20, 2016

कवि अगमसिंह गिरी र ‘नचिनिने भएछौ’ कविता

           अगमसिंह गिरी स्वच्छन्दतावादी धाराका कवि हुन् । गीत, फुटकर कविता र खण्डकाव्य आदिका सर्जक गिरीका कवितामा मानव समाजका आन्तरिक यथार्थ वा पिडा, रोदनको चित्रण भएको पाइन्छ । समाजमा पिडित मानिस उनको कविताको विषय हो । उनले मान्छे र प्रकृतिबिचको सम्बन्ध देखाउँदै मानवीय अन्तर्वेदनाको प्रस्तुतीबाट नेपाली जातीयताको गौरवगान गरेका छन् ।
            कविले यस नचिनिने भएछौकवितामा नेपाल र नेपालीले आफ्नो पुख्र्याैली गरिमा गुमाउन लागेको, सँस्कार तथा पहिचान हराउँदै जान लागेको अवस्थालाई विषयवस्तु बनाएका छन् । यसमा यहाँशब्द नेपालबाहिरको भूमि र तिमीशब्द यहाँ बस्ने नेपालीहरुका लागि प्रयोग भएका छन् । कविले प्रवासमा बस्ने नेपालीहरु आत्मव्यथाले पिडित देखेका छन् । कविका विचारमा त्यहाँ बस्ने नेपालीले अतीतको गौरवगाथा गुमाएर गालामा रगत हराएको, आँखाको ज्योति गुमाएका, कारागाको बन्दीजस्तो निरीह र गाँस लुटिएको अभागी बनिरहेको भाव व्यक्त गरेका छन् । प्रवासी नेपालीमा अतीतका गौरव रहँदाको धपक्क बल्ने अनुहारमा ग्लानिका रेखाहरु कोरिएका छन् र आत्मगौरवमा चोट लाग्दा सहने क्षमता बढेको छ । अतीतको गौरव र पहिचान गुमेको अवस्थाप्रति कविले व्यङ्ग्य गरेका छन् र राष्ट्रभक्तिको अगाध भाव प्रकट गरेका छन् । कवि प्रवासी नेपालीलाई विगतको गौरवगाथा सुनाउन र सही परिचय दिलाउन चाहँदैनन् तर उनलाई जातीय गौरव आओस् भन्ने चाहन्छन् र यसको लागि चिन्तित बनेका छन् ।            यस कवितामा प्रवासी नेपालीहरु विरक्तिएका, शिथिल र मलिन परिस्थिमा रुमल्लिएको अभिव्यक्ति छ । उनीहरुले विपत्ति र कष्टको विरोध गर्न छाडी मनस्थिति परिवर्तन गरेप्रति कवि चिन्तित बनेका छन् र त्यस्तो स्थितिको व्यङ्ग्य गरेका छन् । गाँस, बास र जातीय अस्तित्व गुमाएर बाँच्न लागेका नेपालीहरुले नेपालीत्व नै बिर्सन लागेको अवस्थाप्रति कवि संवेदशील बनेका छन् । नेपालीले आफ्नो जातीय अस्तित्व, गाँस, बास र गौरवको रक्षा आँफै गर्नुपर्ने र विगतको गौरवगाथा अरुले सम्झाएर होइन आफैं याद गर्नुपर्ने कुरालाई यस कवितामा व्यङ्ग्यात्म ढङ्गले प्रस्तुत गरेका छन् । तिमी त यहाँ नचिनिने भएछौ भन्ने अंशको पुनरावृत्तिबाट व्यङ्ग्यात्मक रुपमा नेपालीलाई आफ्नो परिचय र गौरवगाथा बिर्सन नहुनेतर्फ पनि सचेत गराइएको छ ।
            सरल शैली, सशक्त बिम्ब, सहज अनुप्रासयोजना, गद्यलयात्मक साङ्गीतिकता, भावसंवेद्यता, गौरवपूर्ण विषयको स्वस्फूर्त, हृदयस्पर्शी र सहज वर्णनले कवितालाई प्रभावकारी बनाएको छ ।

            गिरीका कविताका विषय नेपाली सँस्कृति, जातीय मायाममता, मानवीय पिडा, संवेदना, मानवीय अस्तित्व र अस्तित्वरक्षाका लागि संघर्ष हुन् । मानवता, जातीय गौरवगान, सार्वभौमिकता, शान्तिसन्देश उनका कवितामा पाइने मुख्य प्रवृत्तिहरु हुन् । उनको कवितामा अमानवीय व्यवहारको विरोध, देशभक्तिको प्रशंसा र हृदयस्पर्शी जस्ता प्रवृत्तिहरु पाइन्छन् ।

No comments:

Post a Comment